६ चैत, काठमाडौं । नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् ।
साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाइ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जीएचटी अन व्हीलको आयोजनामा हुन लागेको यात्रामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । लामाको यो यात्रा १७ सय किलोमिटर लामो हुने भएको छ ।पर्यटन बोर्डमा आयोजित विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले साहसिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैं सकारात्मक रहेको समेत बताए ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सीमित स्रोत साधनका बीच समग्र पर्यटन प्रवर्द्धनको काम गरेको जानकारी दिए । बोर्डका निर्देशक मणिराज लामिछानेले साहसिक पर्यटन प्रवर्द्धनका लागि बोर्डले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिंदै यो रुटलाई नयाँ प्रडक्टको रुपमा प्रवर्द्धन गर्न र साहसिक पर्यटनमा सहभागीलाई बोर्डले सक्दो सहयोग गर्ने आश्वासन दिए ।साइक्लिस्ट लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानका लागि आफूले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताए । लामाले १८ चैतदेखि कञ्चनजंघाबाट साइकल यात्रा सुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने आयोजकले जनाएको छ । लामा व्यावसायिक माउन्टेन बाइकर हुन् । उनले देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितमा भाग लिएका छन् ।
-
Mr. Admin