२७ वैशाख, काभ्रेपलाञ्चोक – आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मण्डनदेउपुर नगरपालिका वडा नं. ५ को वडा अध्यक्षका उम्मेदवार रहेका हर्क घिसिङले आफ्नो वडालाई समृद्ध, सुन्दर र सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्ति गर्नुभएको छ । नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा विजय प्राप्त गरेको र यथास्थितिवादी सोचका कारण पाँचवर्षमा एउटा पनि सम्झन लायक काम नभएको मण्डनदेउपुरको एकमात्र वडा नं. ५ लाई घिसिङले अरु वडाभन्दा अब्बल र व्यवस्थित बनाउने बताउनुभएको छ ।
वडालाई सुन्दर र समृद्ध बनाउन घिसिङले गोठडाँडा–खाटेचउर–देउराली सडक, देउराली–खानीगाउँ–देविथान सडकलाई स्तरोन्नती गराउने, जयमाने–बरदेउ सडकलाई स्तरोन्नती गर्ने र वडामा भएका अन्य स्थानीय तथा कृषि सडकलाई बाह्रै महिना निर्वाध रुपमा सवारी आवागमन हुने गरी स्तरोन्नती कार्य पाँचवर्षमा सक्ने गरी कार्य अघि बढाउने बताउनुभएको छ । घिसिङले बदमपुरेदेखि ब्रह्मायणी मन्दिर सडकलाई दायाँबायाँ पुटपाथ र बगैचा सहित बनाएर ब्रह्मायणी मन्दिर परिसरलाई पार्कको रुपमा विस्तार गरि सुन्दर पर्यटकीय क्षेत्र बनाउने समेत बाचा गर्नुभएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय रहनुभएका घिसिङले वडामा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै बालबालिका र जेष्ठ नागरिकलाई टोलमै स्वास्थ्य सेवा पुर्याउन पहल गर्ने बताउनुभएको छ ।
घिसिङले सिञ्चाइका कारण बाझो बस्ने गरेको थानमारेदेखि ब्रह्मायणी, दामपोखरी, खाटेचौर, सिमलचौर र चापाबोट क्षेत्रका जमिनमा सिञ्चाइका लागि आवश्यक पूर्वाधार तयार गरि स्थानीय युवाहरूलाई स्वरोजगार बनाई कृषि सम्बन्धि सिपमुलक तालिम दिई कृषि उत्पादनमा व्यवसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तरकारी खेतिका लागि अति उत्तम मानिएका त्यहाँका जमिनमा बाह्रै महिना सिञ्चाईको प्रबन्ध मिलाउन नगर, प्रदेशस देखि केन्द्र सम्म समन्वय गरी लिफ्ट वा डिपबोरिङबाट सिञ्चाइको प्रबन्ध मिलाउने, व्यवसायिक पशुपालन गर्ने किसानका लागि आवश्यक औजार तथा घाँसका बिउ र विरुवाहरू अनुदानमा र पशु प्राविधिक सेवा निःशुल्क उपलब्ध गराउने उहाँले बताउनु भएको छ ।
उहाँले तपेश्वर खेलमैदानलाई व्यवस्थित बनाउने, वडाभित्रका हरेक कृषकको गणना गरि मल तथा उन्नत जातका बिउविजन उपलब्ध गराउन पहल गर्ने, कृषि उत्पादनलाई बजारिकरण गर्ने वडामा कृषि उपज संकलन तथा बिक्री वितरण केन्द्र बनाउने बालीमा बन्यजन्तुबाट हुने क्षती रोकथामका लागि सामुदायिक वन क्षेत्रमा तारबार गराउन सम्बन्धित निकायमा पहल गर्ने र वन्यजन्तु नियन्त्रणका लागि पहल गर्ने जस्ता योजनाहरू समेत अघि सार्नुभएको छ ।
-
Mr. Admin