प्रधानमन्त्रीविरुद्ध कलम चलाउने पत्रकारको नागरिकता खारेज

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

२२ कात्तिक, काठमाडौं– प्रधानमन्त्रीका विरुद्ध आलोचनात्मक समाचार लेखेको आरोपमा भारतमा एक पत्रकारको नागरिकता खारेज गरिएको छ । भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ ।भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ । ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ । ओसीआई कार्ड भएपछि भारतमा आउने जाने, व्यापार व्यावसाय, नोकरी गर्न पाइन्छ । तर मतदान र संवैधानिक पदमा पुग्ने अधिकार भने हुँदैन । भारतीय गृह मन्त्रालयका अनुसार पाकिस्तानी हजुरआमा हजुरबाबा, आमाबाबु हुनेलाई ओसीआई प्रदान गरिँदैन । तासीरका बुबा पास्कितानी हुन ।


तासीरले गत बैशाखमा अमेरिकाको प्रतिष्ठित पत्रिका टाइम म्यागजिनमा मोदीको विषयमा समाचार लेखेका थिए । ‘इन्डियाज डिभाइडर इन चिफ (महाविभाजनकारी)’ शीर्षकमा सात महिना पहिले प्रकाशित समाचारकै कारण तासिरको ओसीआई रद्द गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।


भारतले भने बाबुको पहिचान लुकाएर लिइएको ओसीआई खारेज गरेको जनाएको छ । भारतीय गृह मन्त्रालयकी प्रवक्ताको आधिकार ट्वीटर हेन्डलमा लेखिएको छ, ‘आतिश अलीले आवेदन दिने बेलामा आफ्ना बाबु पाकिस्तानी मूलका हुन भन्ने कुरा लुकाएका थिए ।’ओसीआई कार्डको विषयमा विवाद उठेपछि आफूहरूले तासीरलाई जवाफ दिने मौका दिएको तर उनी जवाफ दिन असफल रहेको गृह मन्त्रालयको भनाई छ । उनी भारतीय कानून अनुसार ओसीआई लिन अयोग्य रहेको मन्त्रालयको ठहर छ ।

  • Mr. Admin

थप