Breaking News

टिकट नपाएपछि बागी उठेका उम्मेद्वार मृत भेटिए

बागी उठेका उम्मेद्वार मृत भेटिए

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

२४ वैशाख, काठमाडौं – सुनसरी जिल्लाकाे रामधुनी नगरपालीका वढा नं. ६ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । पार्टीले टिकट नदिएपछि बागी उठेका पौडेल शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले पौडेलले आत्महत्या गरेको हुन सक्ने दाबी गरेपनि मृतकका परिवारले हत्या गरेकाे आराेप लगाएका छन् ।

मृतक पाैडेललाई उम्मेदवारी फिर्ता लिन बारम्बार दवाव र धम्की आउने गरेकाे मृतकका परिवारले बताएका छन् । मृतककी श्रीमती विमला पाैडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् । उनका अनुसार नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिश कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की दिने गरेको मृतक पौडेलको परिवारका सदस्यहरुको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्युरिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार धम्की दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

‘बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर हिँडेको र भोलिपल्टसम्म नआएपछि अपहरणमा परेको भन्दै प्रहरीमा रिपोर्ट गरेका हौं । अपहरण गरेर भारत पुर्‍याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबाट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’, मृतककी श्रीमती पौडेलले भनिन् । बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै भुजेललगायतको नाम लिएको परिवारको भनाइ छ । प्रहरीले पनि यातना दिएको उनीहरूको आरोप छ ।

यता सुनसरी प्रहरी प्रमुख थापा भने परिवारले गरेको रिपोर्टका आधारमा पौडेललाई बोलाएको सोधपुछ गरेको दाबी गर्छन् । ‘परिवारले अपहरणका परेको भनेर निवेदन दिएपछि बोलाएर सोधपुछ गरेर छाडिएको हो । अरु केही भएको छैन ।’, उनले भने ।

भुजेलले काम गर्ने ठाउँमा लेमन होटल रहेको र उक्त होटलमा आउने भारतीयमुलका आपराधिक व्यक्तिहरूसँग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवारका केटाहरू मिलेर अपहरण गरेको परिवारका सदस्यहरूको आरोप छ । यो विषय प्रहरीसँगको मिलेमतोमा सुनसरीका कांग्रेस नेताहरूले ढाकछोप गर्न खोजिरहेको परिवारका सदस्यहरुको दाबी रहेकाे रिपाेटर्स नेपालले समाचार प्रकाशन गरेकाे छ ।

  • Mr. Admin

थप